बुटवल,२९ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ शिक्षा ऐन जारी गर्न तयार रहेको भन्दै भावनामा बगेर आन्दोलन गर्न जरुरी नभएको बताएका छन् ।

नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री ओलीले सरकार नयाँ शिक्षा ऐन जारी गर्न तयार रहेको भन्दै भावनामा बगेर आन्दोलन नगर्न शिक्षकहरूको आग्रह गरेका हुन् ।

आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्दै उनलेे देशको अवस्था पनि हेरेर माग राख्नुपर्नेमा जाेड दिए । समाधान नदिने ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षकहरूको समस्या समाधान गर्न सरकारले वार्तामा बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए ।

‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’

प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गर्दै ओलीले वर्तमान सरकार कसैले चाहँदैन नढल्ने बताए ।

आन्दोलनरत शिक्षकहरू प्रति इंगित गर्दै उनले भने-‘शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईंहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो, ‘लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं, भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउँछौं र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौं ।,

आफू र नेकपा एमालेलाई बद्नाम गर्न सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको दावी गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रम तोड्न सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए । उनले सबै अफवाहहरूको जवाफ मिसन ८४ ले दिने दावी गरे ।

प्रधानमन्त्री ओलीले संविधान बनेपछि देश विकासको मार्गमा अघि बढेको बताउँदै वर्तमान सरकार त्यसै मार्गलाई अझ तीव्र बनाउने दिशामा केन्द्रित रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री बिष्णु पाैडेल,सचिव पद्मा अर्याल लगायतले सम्बाेधन गरेका थिए ।