झापा,२९ चैत ।
भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याईएको छ ।
भारतीय प्रहरीको सहयोगमा प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्राएको हो ।

उनलाई भद्रपुर विमानस्थल लगिने र विमानमार्फत काठमाडौं लगिने प्रहरी उच्च स्रोतले जनाएको छ । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

नेपाल प्रवेश गराएसँगै उनलाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको थियो ।

प्रसाईंलाई नेपाल ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको उपस्थिती बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहिवार पक्राउ परेका प्रसाईंलाई शुक्रवार काठमाडौं ल्याउन लागिएको हो ।

राजसंस्था पुनस्र्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको र नेपालमै रहेको बताउँदै आएका थिए ।

प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए । प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।