काठमाडौँ,२९ चैत ।
आज देशभरकाे माैसम आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जसको प्रभावले देशभरकाे माैसम आंशिकदेखि साधरणतया बदली भएको छ ।
आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउनेछ ।
सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।









