काठमाडौँ,२८ चैत ।
देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ ।

पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभरकाे मौसम आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले काेशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हाल चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तो अवस्था रातिसम्म जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि देखिएको छ । यसबाट अहिले देखिएको देशव्यापी तुवाँलो क्रमिक रूपमा घट्ने अनुमान गरिएको छ ।

चट्याङ्गसहित वर्षाको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।