काठमाडौं,२७ चैत ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिएका छन् ।

समितिले बुधबार काठमाडौंमा आयोजना गरेको प्रतिवद्वता सभामा डा. गुरुङले भने, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’

वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अरु राजावादी प्रदर्शनकारीहरूको मुद्दा खारेज गरेर रिहाइ नगरिए २२ गतेबाट आन्दोलनको नयाँ अध्याय सुरु गर्ने उनले बताए ।

‘२२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को-को आउनुहुन्छ आउनुस्,’ उनले भने ।

उनले आफ्नो समूहका सबै सदस्यलाई रिहा नगरे आफू सबैभन्दा अगाडि उभिएर सामूहिक गिरफ्तारीमा सहभागी हुने बताए ।

शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेको उनले बताए । ‘शक्ति साधना नगरेसम्म सत्ता प्राप्ति हुँदैन । अहिले हामी चुप लागेर बसेका छैनौं,’ उनले भने ।

कतिपय शक्ति मन्दिर फुटाउने, मूर्ति फुटाउने, पिसाब छर्कने गर्दै हिंडिरहेकाे बताउदै उनले भने, ‘हामी त्यही मन्दिरमा गएर ए भगवान हामीलाई शक्ति देऊ है भनिरहेका छौं ।’

तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै उनले आफुहरू आन्दोलनमै रहेको र पछि नहटेकाे दाबी गरे । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ,’ उनले भने, ‘तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं ।’