बुटवल,२७ चैत ।
लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम बर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै ती क्षेत्रमाे तुवाँलो कम हुने अनुमान छ ।
देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावा सम्मिलित प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ, भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था देखिएको छ ।
लुम्बिनी,गण्डकी,बागमती र कोशी प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । देशभर तुवाँलो लागेको अवस्था छ ।
महाशाखाका अनुसार कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रका अझै एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको अनुमान छ ।
यस्ता मौसमी अवस्थाबाट अहिले देखिएको देशव्यापी तुवाँलो केही मात्रामा कम हुने अनुमान गरिएको छ । वर्षा, हिमपात र तुवाँलोका कारण स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।









