काठमाडौ,२६ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नाे
पार्टीका नेतालाई पक्राउ गर्ने र दुर्गा प्रसाईंलाई छाडेको भन्दै प्रहरीसँग आक्रोश पोखेका छन् । आज राजधानी काठमाडौंकाे
बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले चैत १५ गते तीनकुनेमा भएको घटनामा दुर्गा प्रसाईँलाई भगाएर सरकारले आफ्ना नेतामाथि धरपकड गरेको आरोप लगाएका हुन् ।

‘दुर्गा प्रसाईँलाई पक्रिन सक्नुहुन्थ्यो । दुर्गा प्रसाईँलाई ढुक्कले सटरभित्रबाट निकालेर पठाउनुभयो तर, मञ्चमा बसेको नेतालाई बोल्न नदिई लखेट्नुभयो,’ उनले भने ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले हिंसात्मक प्रदर्शन गर्न निर्देशन दिएको आरोपमा पक्राउ गरेको छ । उनीहरू प्रहरी हिरासतमै छन् ।

उनले राजावादीमाथि राज्यले आतंक सिर्जना गरिरहेको पनि आरोप लगाए । ‘प्रधानमन्त्रीले अघिल्लो दिन युवालाई भेला पारेर के के भन्नुभयो । हामीले राज्यको तर्फबाट कुन प्रकारको आतङ्क सिर्जना गरिएको छ राम्रोसँग हेरिएको छ । दुनियाँले हेरिरहेको छ । सविन महर्जनले के गरेको थियो र गोली हानिएको ?’ उनले प्रश्न सोधे ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । केही घाइते अहिले पनि उपचाररत छन् । त्यस्तै प्रदर्शनकारी उग्र बन्दा निजी घर तथा सरकारी संरचना तोडफोड र आगजनी गरिएको थियो ।

तीनुकनेको प्रदर्शनको कमान्डर प्रसाईं थिए । उनी अझै फरार छन् ।