काठमाडौं,२६ चैत ।
घुसपैठको आशंकामा राप्रपाको सभास्थल काठमाडौंकाे बल्खुबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूले घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ ।

नियन्त्रणमा लिइएका ब्यक्तिहरूकाे परिचय भने अझै खुलिसकेको छैन । यद्यपि प्रहरी र राप्रपा दुवैले सभा स्थलबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही
शंकास्पद ब्यक्तिहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज बल्खुमा सभा आयोजना गरेको छ । सभालाई व्यवस्थित र मर्यादित गर्न उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । राप्रपाले पनि दर्जनौंको संख्यामा स्वयंसेवक परिचालन गरेको छ ।

सभास्थल वरपर रहेका पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा पनि सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।