काठमाडौँ,२६ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा आज काठमाडौंमा हुने प्रदर्शन तथा आमसभामा सहभागी हुन राप्रपाका नेता कार्यकर्ता तथा राजावादीहरू आमसभास्थल बल्खुमा भेला हुने क्रम सुरु भएको छ ।
सो पार्टीलाई प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी कालिमाटी कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन् ।
बल्खु चोकमा आयोजना गरिएको आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनकारी दिए ।
प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको सो पार्टीले अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने बताउँदै आएको छ ।






