काठमाडौँ,२४ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौँमा गर्ने प्रदर्शनमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति,राष्ट्रिय शक्ति नेपाल अभियानले पनि साथ दिने भएको छ ।
राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आज एक विज्ञप्ति जारी गरी राप्रपाको प्रदर्शन तथा सभामा आफूहरू पनि सहभागी हुने जानकारी गराएका हुन् ।
राप्रपाले चैत २६ गते काठमाडौँमा गर्ने प्रदर्शन तथा आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुन डा. गुरुङले आह्वान गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चैत २६ गते काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत् आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहेको छ।’
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै करोडौँको क्षति भएपछि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् । यसैकारण डा जगमान गुरुङलाई समितिको कार्यवाहक संयोजकको जिम्मेवारी दिइएको हो ।
सुवेदीको नेतृत्वलाई अस्वीकार गर्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेका हुन् । तर राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भने सुवेदी नेतृत्वकै समितिमा सक्रिय रहँदै तीनकुने प्रदर्शनमा सहभागी भएका थिए ।
त्यस दिन भएका हिंसा र तोडफोड घटनामा मिश्र र राणा पनि अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीहरूविरुद्ध मुद्दासमेत दर्ता गरिसकेको छ ।
उता राजसंस्था पुनर्स्थापना एवं नेपाललाई हिन्दु राष्ट्र घाेषणा गर्नुपर्ने माग राखेर अभियान सञ्चालन गर्दै आएको राप्रपाका पुराना नेता केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले पनि राप्रपाकाे प्रदर्शनमा सहभागी हुने जनाएको छ ।
राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियान्ता रूपसिं थापाले राप्रपाले चैत २६ गते राजधानी काठमाडौंमा गर्ने प्रदर्शन तथा सभामा आफुहरूकाे समर्थन रहेको भन्दै त्यसमा राष्ट्रिय शक्ति नेपाल पनि सहभागी हुने जानकारी दिए ।
राजसंस्था पुनर्स्थापना तथा नेपाललाई हिन्दु राष्ट्र घाेषणा गराउने आन्दोलनमा राष्ट्रिय शक्ति नेपालकाे साथ र समर्थन रहने उनलेे बताए ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियान त आन्दोलनको अग्र माेर्चामा रहेको छ ।






