काठमाण्डौ,२३ चैत ।
अनलाइन व्यापारका लागि अब व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’ पनि आवश्यक पर्ने भएको छ । आउँदो वैशाख २ गतेदेखि नेपालमा अनलाइन व्यापार गर्नेहरुले व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’पनि बनाउनुपर्नेछ । अनलाइन व्यापार नियमनसम्बन्धि कानून वैैशाख २ गतेदेखि लागू हुने भएकोले अनलाइन व्यापारका लागि व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’ आवश्यक पर्ने भएको हो ।
त्यस्ता ‘प्लेटफर्म’मा वेबसाइट, एप्लिकेशन वा अन्य कुनै प्रकारका अनलाइन प्रणाली पर्छन् । सामाजिक सञ्जालमार्फत् हुने व्यापारलाई कसरी नियमन गर्ने भन्नेबारे भने नियमावली बनेपछि मात्र स्पष्ट हुनेछ । आफ्नो प्ल्याट्फर्म बनाएका व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाउने विद्युतीय व्यापार पोर्टलमा पनि सूचीकरण हुनुपर्ने कानुनी ब्यवस्था रहेको छ ।
कानून लागू भएसँगै अहिलेजस्तो विनादर्ता अनलाइन व्यापार चलाउन पाइदैन । यद्यपि लघुउद्यमी वा घरेलु उद्यमीले भने हाललाई अन्य विद्युतीय ‘प्लेटफर्म’ प्रयोग गरी विद्युतीय व्यापार गर्न पाउनेछन् । बिक्रेताले आफ्नो वस्तु तथा सेवा बिक्रीका लागि क्रेतासँग विद्युतीय वा लिखित करार गरेपछि त्यही अनुसार आपूर्ति गर्नुपर्ने व्यवस्था ऐनमा छ ।
यदी समयमा ढुवानी गर्न नसकेको वा प्रतिबद्धताअनुरूप सामान नपठाएमा वा त्रुटिपूर्ण सामान पठाएमा उपभोक्ताले त्यसलाई फिर्ता गर्न पाउने छन् । संसदका दुवै सदनबाट पारित भइ राष्ट्रिपततिबाट चैत ३ गते प्रमाणित भएको विधेयक वैशाख २ गतेदेखि कानूनको रूपमा कार्यान्वयन हुने भएको हो । पछिल्लो समय नेपालमा फस्टाउदै गएको अनलाइन व्यापारका नाममा ठगीका घटना समेत बढेपछि त्यसलाई नियमन गर्न सरकारले त्यस सम्बन्धि ऐन बनाएको हो ।





