काठमाडौ,२३ चैत ।
आन्दोलनरत शिक्क्षकहरूले आज सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले आज बबरमहल-नयाँ बानेश्वर सडकमा आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।

यसअघि बबरमहल-नयाँ बानेश्वर सडकमा नारा-जुलुससहित प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज भने सडकमै सुतेर प्रदर्शन गरे ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।

शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले संसदको अधिवेशन अन्त्य भएकोले अध्यादेशबाट भए पनि ऐन ल्याउनुपर्ने माग गरेका छन् ।

अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने शिक्षकहरूको अडान छ ।

सरकारले बोलाएको वार्ता पनि अस्वीकार गर्दै शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।