काठमाडौं,२२ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । बुटवल स्थित सुप्रिम सहकारीकाे रकम अपचलन सम्बन्धि मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
दिएसँग उनलाई शुक्रबार बेलुका बुढानीलकण्ठस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।
रवि लामिछानेलाई एक करोड धराैटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीकाे आदेश बदर गर्दै उच्च अदालत बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको थियो ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उच्च अदालतकाे आदेश लगत्तै लामिछानेले प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने बताएका थिए ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । ममाथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।






