काठमाडौ,२१ चैत ।
राजधानी काठमाडौंमा संघीयताविरुद्ध प्रचार गर्दै हिँडेका
राष्ट्रिय जनमोर्चाका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारा सोमरे मगर र गोपाल शिरिष रहेका छन् ।

बिहीबार राजधानीको अनामनगर क्षेत्रमा संघीयताविरुद्ध पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।

महासचिव भट्टका अनुसार उनिहरूलाई काठमाडौँको अनामनगरबाट पक्राउ गरी करिब तीन घण्टा प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । पार्टीको दबाबपछि प्रहरीले साँझ ६ बजे दुवैजनालाई बिनासर्त रिहा गरेको उनलेे बताए ।

आफ्ना कार्यकर्तालाई बिना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको भन्दै राजमोले आपत्ति जनाएको भट्टले बताए ।

राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि संघीयताविरुद्ध साताब्यापी काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ ।

सो आन्दोलनको प्रचार प्रसारका लागि काठमाडौँलगायत विभिन्न जिल्लामा पर्चा वितरण, सांस्कृतिक कार्यक्रम, सभा, कोणसभा लगायतका कार्यक्रम भइरहेको जनमोर्चाले जनाएको छ ।