काठमाडौ,२१ चैत ।
सुनकाे मुल्यले आज फेरि उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

यसअघि कायम उच्च मूल्यको रेकर्ड ताेड्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।

सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य हिजो प्रतितोला ६ सय रुपैयाँ घटेको थियो ।

हिजो सुनको मूल्य एक लाख ७९ हजार एकसय रुपैयाँ थियो । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो मूल्यलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हाे । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार २० रुपैयाँ थियो ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो ।