संसदीय समितिको ध्यानाकर्षण नभएकोमा आपत्ति
काठमाडौं,२० चैत ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाप्रति संसदीय समितिको ध्यानाकर्षण नहुँदा आपत्ति जनाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्ने बताए । तर, अहिले संसद नबसेको अवस्थामा समेत संसदीय समितिले यो विषयलाई गम्भीरतापूर्वक नलिएकोप्रति असन्तुष्टि व्यक्त गरे । समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको धारणा स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो ।

शर्माले प्रश्न गर्दै भने, “राज्यसँग चार हजार मानिसको भीड व्यवस्थापन गर्ने क्षमता छैन ? बल प्रयोग नियतवश गरिएको हो कि आकस्मिक रूपमा भयो ?”

उनले संसद चलिरहेको भए यो विषय पहिलो एजेन्डा बन्ने उल्लेख गर्दै समितिले यसलाई प्राथमिकीकरण गर्न नसकेको बताए । “एजेन्डा निर्माण प्रक्रियामा कमी कहाँ भयो? पहिले बनाइएको थियो भने पछि किन सच्याइएन ?” भन्दै उनले संसदीय प्रक्रियाप्रति पनि प्रश्न उठाए ।

महामन्त्री शर्माले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश थियो वा आकस्मिक भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे । “गृहमन्त्रीलाई बोलाएर राज्यको बुझाइ स्पष्ट पार्नुपर्ने हो, तर उनले यो अवसर गुमाए,” उनले टिप्पणी गरे ।