बुटवल,१९ चैत
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।

कोरोना महामारीका बेला गम्भीर बिरामी परेका उनी त्यसयता घाँटीसम्बन्धी समस्याबाट पीडित थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित बोहरा बोल्न नसक्ने अवस्थामा पुगेका थिए । यही कारण उनले प्रतिनिधिसभामा एकपटक पनि बोलेनन् ।

राजनीतिक यात्रा हेर्ने हो भने उनी पञ्चायतकालमा ५ पटक र गणतन्त्रपछि ४ पटक गरी ९ पटक मन्त्री बने । २०३८ सालमा पर्यटन राज्यमन्त्री हुँदै सहायकमन्त्री बनेका उनले २०४०, २०४३ र २०४४ सालमा पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले । गणतन्त्रपछि २०६७ मा बन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ मा आपूर्ति मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रहेका बोहरा २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य बने। त्यसपछि २०४२ सालमा पुनः पञ्चायत सदस्य निर्वाचित भए । २०६४ सालको संविधानसभा चुनावमा पराजित भए पनि २०७० मा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य बने । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

स्वास्थ्य समस्या गहिरिँदै गएपछि पछिल्लो समय उनी पार्टी राजनीतिमा खासै सक्रिय रहेनन् । चार दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका बोहराको निधनले राप्रपाले अनुभवी नेतृत्व गुमाएको छ ।