हेटौंडा,१९ चैत ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई मामाघर आएका दुई बालक र स्थानीय एक बालककाे खाेलामा डुबेर मृत्यु भएको हो । उनिहरूको सोमबार दिउँसो करिब साढे ४ बजे तिर सिस्नेरी बजारपछाडि ओढारजस्तो खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
इन्द्रसरोवर–३, सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १२ वर्षीय सुसन आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १५ वर्षीय प्रवीण घोरसैनी र प्रविश घोरसैनीको डुबेर मृत्यु भएको हो । घोरसैनी जुम्ल्याहा दाजुभाइ हुन् भने आचार्य मामाका छोरा हुन् । प्रहरीका अनुसार उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा पौडी खेल्न गएका थिए ।
असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर आएका उनीहरु मामाको छोरा सुसनसँग नुहाउनका लागि खोलामा गएका थिए ।
सोही वडाका अध्यक्ष प्रताप भोम्जनका अनुसार तीन जना खोलामा नुहाउन भनेर घरबाट निस्किएका उनिहरू अबेरसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा डुबेको अवस्थामा मृत भेटिएका थिए । मृतक बालकहरुको शव पोस्टमार्टम गर्न हेटौंडा अस्पताल ल्याइएको स्थानीय प्रहरीले जनाएको छ ।
गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छाड्दा खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनाएको थियो ।





