काठमाडौँ,१८ चैत ।
राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आज बसेको राष्ट्रिय सभनकाे बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । सरकारले पेस गरेका पाँचवटा विधेयक राष्ट्रिय सभाको बहुमतले पारित भएको अध्यक्ष दाहालले जानकारी गराए ।
‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’,‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरिएको हो ।
राष्ट्रियसभामा संशोधनसहित दफावार छलफलपछि विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ ।
उक्त विधेयकहरु संसदका दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने आज अन्तिम समय सीमा थियो ।
केही दिनदेखि विपक्षी दलहरुले गरेको संसद अवरुद्धका कारण विधेयक पारित हुनेमा संशय पैदा भएको थियो । विपक्षीहरुको माग बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको दुवै सदनमा सम्बोधन गरेसँगै सोमवार संसद सुचारु भएको थियो ।
राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । उक्त प्रतिस्थापन विधेयक सरकारले राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नेछन् । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि उक्त विधेयकले कानूनको मान्यत प्राप्त गर्नेछ ।






