कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको दाबी
काठमाडौँ,१८ चैत ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दाकाे बिषयमा संसदमा छलफल गरेकाेमा प्रधानमन्त्री,सभामुख र विपक्षी दलकाे आलोचना गरेका छन् ।

सोमबार बसेकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले
अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने भन्दै त्यस बिषयमा बाेल्न समय माग्ने विपक्षी दल,बाेल्न समय दिने सभामुख र जवाफ दिने प्रधानमन्त्री ओली प्रति प्रश्न गरेका हुन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको भन्दै उनले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले उनलाई हटाएर गल्ती गरेको बताए । अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिए ? भन्ने प्रश्न पनि गरे ।

उनले भने,‘सभामुख महोदय, कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्थ्यो । हामी सत्तारूढ पक्षबाटै बोल्दै छौँ— सरकारले उनलाई हटाएर गल्ती गरेको छ । तर, यो विषय अदालतमा विचाराधीन भइसकेको छ । यस्तो अवस्थामा प्रतिपक्षीले समय किन माग्यो? सभामुखले समय किन दिनुभयो ? प्रधानमन्त्रीले अदालतमा विचाराधीन मुद्दामा जवाफ किन दिनुभयो ?’

उनले लोकतान्त्रिक प्रणालीमा नागरिकले अदालतको फैसला सर्वोपरि ठान्ने बताउँदै अदालतको निर्णय नै स्वीकार्य उल्लेख गरे ।