काठमाडौं,१८ चैत ।
राप्रपाका सांसद्हरुकाे होहल्लाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बाेधन गरेका छन् ।

साेमबार बसेकाे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गरिरहेका बेला राप्रपाका सांसद्हरुले होहल्ला गरेका हुन् ।

राप्रपा सांसदहरूले होहल्ला गरेर संसद बैठक अबरुद्ध गर्न थालेपछि प्रधानमन्त्री ओलीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए । सांसदहरुको होहल्लाबीच प्रधानमन्त्रीको सम्बोधन सक्काएका छन् ।

सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताए । उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको भन्दै उनले घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताए ।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’प्रधानमन्त्री ओलीले भने, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्,कडा प्रशासनिक कारबाही हुन्छ ।’ उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिए ।