काठमाडौं,१७ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

आइतबार मिश्र र राणासहित ११ जनाविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको हो ।

त्यसैगरी, अन्य ४१ जनालाई आपराधिक उपध्रव र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो ।

मिश्र, राणा र अन्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ । अहिले सरकारी वकिलले उनीहरूको मुद्दामा अनुसन्धानबारे बहस गरिरहेका छन् ।

यसैबीच साेही प्रकरणमा पक्राउ परेका स्वागत नेपाल रिहा भएका छन् । प्रहरीले उनलाई मुद्दा नचलाई रिहा गरेको हो ।

काठमाडौंकाे तीनकुने घटनामा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका उनलाई उक्त घटनामा संलग्नता नदेखिएपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।