बुटवल,१६ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीले सत्ता सञ्चालन गर्ने शक्ति र पात्रकाे असक्षमताकाे विकल्प यो ब्यवस्थाकाे अन्त्य वा प्रतिगामी हुनै नसक्ने जनाएको छ ।

पार्टीका महासचिव टाेप अस्लामी मगरले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी सत्ता सञ्चालनमा रहेका शक्ति र पात्रहरुको असक्षमता र निकम्मापनको विकल्प यो व्यवस्थाको अन्त्य वा प्रतिगमन हुनै नसक्ने जनाएका हुन् ।

राजतन्त्रको पक्षमा शुक्रबार राजधानी काठमाडौंमा राजावादीहरूकाे प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुख ब्यक्त गर्दै जनमुक्ति पार्टीले हालसम्म प्राप्त उपलब्धीहरु जोगाउँदै, ब्यवस्थामा रहेका कमीकमजोरीलाई सच्याएर देशलाई अग्रगमनको बाटोमा अगाडि बढाउन प्रतिबद्ध लोकतान्त्रिक शक्तिहरू यथाशिघ्र गोलबन्द हुनुपर्ने आवश्यकता औल्याएको छ ।

नेपाली जनताको लामो संघर्ष र बलीदानी पश्चात् प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता सहितका उपलब्धीहरुलाई जोगाउदै र त्यसलाई अझ परिष्कृत गर्दै भावी गन्तव्य तय गर्नु नै राष्ट्रिय कार्यनीति हुनुपर्ने भन्दै महासचिव अस्लामीले राजतन्त्रका समर्थकहरूको नाममा शुक्रबार काठमाडौँमा भएको प्रदर्शन र त्यसबाट सृजित अराजक एवं हिंस्रक घटनाक्रम दुःखद र चिन्ता जनक रहेको जनाएका छन् ।

घटनाकाे राज्य पक्ष र आन्दोलनरत पक्ष दुवै जवाफदेही हुनुपर्ने भन्दै साे पार्टी उक्त घट्नाको निष्पक्ष छानविन र दोषी उपर कारवाही गर्न र पीडितहरुलाई यथाशिघ्र उचित क्षतिपूर्ति एवं राहतको माग गरेको छ ।