काठमाडौं,१५ चैत ।
राजधानी काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीहरूले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्ने भएका छन् । गणतन्त्रवादीहरूले काठमाडाैंको भृकुटीमण्डपमा र राजावादीहरूले तीनकुनेमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

दुवै पक्षले उत्यकाका विभिन्न ठाउँहरूबाट नारा जुलुससहित सभा गर्ने तयारीमा छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाल गणतन्त्रकाे पक्षमा प्रदर्शनकाे तयारी गरेका छन् ।

पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिकाे प्रदर्शनको कमान्डर भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने छन् ।

काडमाडौं प्रशासनले गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति तय गर्दै सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । त्यसैले प्रशासनले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिदिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरूको नेतृत्व गरेको समाजवादी मोर्चालाई भृकुटीमण्डप प्रदर्शनीमार्गमा र राजावादीहरूलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।

कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सुरक्षाव्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । केही दिनअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १५ चैतमा दुई पक्षको प्रदर्शनको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको थियो । सोही अनुसार सुरक्षा रणनीति बनाइसकिएको गृहमन्त्रालयले जनाएको छ ।