काठमाडौँ,१४ चैत ।
राजधानी काठमाडौंमा राजसंस्थाकाे पक्षमा नाराबाजीमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् ।
बिहीबार माइतीघरमा नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । नेपालमा भने उनलेे आफूलाई ‘जयानन्द कृपा’ का रूपमा चिनाउँथे । उनि प्रहरी वृत्त सिंहदरबारकाे नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार राजनीतिक विषयमा समेत विरोध जनाई आक्रामक रूपमा प्रस्तुत भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । माइतीघरमा प्लास्टिक प्रयोग नगर्न अनुरोध गरिएको ब्यानरसहित माइकिङ गर्दै बसेका उनि राजावादीहरूकाे जुलुस आएपछि राजसंस्थाकाे पक्षमा नारा लगाएका थिए ।
‘भ्रष्ट सरकार खारेज गरौँ’ लेखिएको प्लेकार्डसमेत उनले बोकेका थिए । ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेजमा उनी नेपालमा विभिन्न ठाउँमा गई ‘शाकाहारी अभियान’ चलाएका तस्बिर पनि पोस्ट भएका छन् । त्यस्तै विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीहरूसँगको तस्बिर पनि उनको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।





