चितवन,१२ चैत ।
पृथ्वी राजमार्ग अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक मंगलवार बिहान करिब साढे ६ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ । ट्रकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





