काठमाडौं,११ चैत ।
अन्ततः सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरेका छन् ।

चाैतर्फी आलोचना र चेतावनीका बाबजुद सरकारले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्ले घिसिङमाथि चारबुँदे आरोप लगाउँदै ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत उनलाई सोधिएको स्पष्टीकरणमा मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकन विवरण समयमा नबुझाएको, शून्य अंक प्राप्त गरेको तथा प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको आरोप समावेश थिए ।

मन्त्रालयले साेधेका प्रश्नको जवाफमा घिसिङले ७ बुँदे स्पष्टीकरण बुझाएका थिए । आफूविरुद्ध कारबाही हुने कुनै आधार नरहेको उनको दाबी थियोे ।