काठमाडौं,११ चैत ।
राजधानी काठमाडौंकाे गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिएकाे आराेपमा ३७० जना कारबाहीमा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सुरक्षित बसपार्क निर्माणका लागि आइतबार आयोजित कार्यक्रममा महासंघका पदाधिकारीहरूले यात्रु दुर्व्यवहार रोक्न कडा कदम चालिएको जानकारी गराएका हुन् ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन प्रहरी, यातायात व्यवसायी तथा मजदुरको समान जिम्मेवारी रहेको छ । वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुको झोला तान्ने र अनावश्यक दुःख दिने गतिविधि रोक्न आवश्यक कदम चाल्नुपर्ने बताए ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बसपार्कको सुरक्षा र मर्यादा कायम गर्न प्रहरी निरन्तर क्रियाशील रहेको जानकारी दिए । चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनामाथि मुद्दा दायर गरिएको प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले बताए ।

देशका ७० जिल्लासम्म सार्वजनिक यातायात सञ्चालन हुँदै आएको नयाँबसपार्कलाई व्यवस्थित बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले विभिन्न सुधारात्मक उपायहरू अपनाएको छ । सो कम्पनीका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार बसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएको छ, जसले यात्रुहरूको सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।