नवलपरासी,८ चैत ।
पूर्वपश्चिम राजमार्गकाे बुटवल-नारायणघाट सडक खण्डअन्तर्गत पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।
उक्त सडक ६५ किलोमिटर पूर्वखण्डमध्ये ४७ किलोमिटर कालोपत्र गर्ने कार्य सकिएको हो ।
बुटवल-नारायणघाट सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा भई देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएकाे आयोजनाले जनाएको छ ।
निर्माण पूरा भएका पुलमा लिंकरोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । उनका अनुसार विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि सडक डाइभर्सन गरेर सवारीसाधन सञ्चालन भएका छन् ।
सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार कार्य जारी रहेको बताए ।
सडक कालोपत्र र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायतका कार्यमा ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेकाे भन्दै उनलेे आगामी वैशाखभित्रमा दुम्कीबाससम्म कालोपत्र गरिसक्ने लक्ष्य रहेको जानकारी दिए ।






