काठमाडौं,४ चैत ।
नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकासमा जाने भएपछि थापालाई नियुक्त गरिएको हो ।
आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए। तर थापा नियुक्त भए ।
उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए । थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन् ।
उता,गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका छन् ।
आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।
सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी सङ्गठन प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा रही मुलुकका लागि पु(याएको योगदानको प्रशंसा गरे ।
सो अवसरमा निबर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताएका थिए ।





