बुटवल,१ चैत ।
बुद्धजन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा सञ्चालित क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई बौद्ध धर्मगुरुहरुबाट प्रमाण पत्र प्रदान गर्दै सम्पन्न भएको लुम्बिनी विकास काेषले जनाएको छ ।

अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा सञ्चालन भएको अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवर्द्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुग्ने बताए ।
यस अघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा सात हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्राम देखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको काेषले जनाएको छ ।
व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु निःशुल्क सहभागी भएका थिए ।
काेषका अनुसार सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।






