बुटवल,१ चैत ।
रूपन्देहीसहित तराई तथा मधेसका जिल्लामा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज तराईका जिल्लामा होली मनाउन लागिएको हो ।
आज रूपन्देही, कपिलवस्तु,नवलपरासी (बर्दघाट सुस्तापश्चिम),नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, बर्दिया, चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको मान्यता छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोतको रूपमा स्थापित छ ।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।






