काठमाडौं,२९ फागुन ।
राजधानी काठमाडौसहित देशका पहाडी जिल्लामा आज होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन रङहरूको पर्व हाेली मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । हिमाली र पहाडी जिल्लामा आज होली मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि शुक्रवार मनाइन्छ । होली पर्व मनाउँदा जस्तो पायो त्यस्तै रंग प्रयोग नगर्न र स्वास्थ्य सुरक्षा अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।
मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढाल्ने गरिन्छ । यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने गरिन्छ ।
उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने परम्परा रहेको छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेकाले असत्य माथि सत्यको जित भएको र त्यसैको उमंगस्वरूप होली खेल्न थालिएको कथा होली पर्वसँग जोडिएको छ ।