काठमाडौं,२५ फागुन ।
पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहकाे स्वागतमा राजावादीहरुले शक्ति प्रदर्शनकाे तयारी गरेपछि राजधानी काठमाडौकाे सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बिगत केही समयकाे पोखरा बसाइपछि दिउँसो करिब साढे ३ बजे काठमाडौँ फर्किन लागेका पूर्वराजाको स्वागतमा राजावादी दल र समूहहरुले शक्ति प्रदर्शन गर्न लाेका हुन् । प्रदर्शनलाई उच्छृंखल हुन नदिन काठमाडौँका मुख्य चोकमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएर उच्च सतर्कता अपनाइएको छ ।
राप्रपासहितका दल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानलगायतका राजावादी समूहहरुले एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म पूर्व राजाको स्वागतमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
आज दिउँसो राजावादी समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि गौशाला चोकसम्म भेला भएर पूर्व राजाको स्वागत गर्ने तयारी गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजको प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौं स्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् । उनीहरू ११ बजेदेखि तोकिएको स्थानमा तैनाथ रहन्छन् ।
काठमाडौंस्थित जिल्ला प्रहरी परिसरसहित सम्पूर्ण वृत्त र प्रभागका टोली आवश्यकताअनुसार विभिन्न ठाउँमा रहनेछन् ।
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै अहिले ११ बजेदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटबाट विमानस्थल प्रवेशमा कडाइ गरिने भएको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको पहिचान गरेर मात्रै गोल्डेनगेटबाट प्रवेश दिइने प्रहरीले जनाएको छ ।
राजावादीहरुको पछिल्ला गतिविधिलाई प्रमुख दलहरुले गम्भीरतापूर्वक लिएका छन् । माओवादीले यसलाई गम्भीरतापूर्वक लिँदै आफ्नो तराई मधेश जागरण अभियान स्थगन गरिसकेको छ । राजावादीहरुले सरकारविरुद्धको आक्रोशलाई व्यवस्थाका विरुद्ध प्रयोग गर्न खोजेको माओवादीको निष्कर्ष छ ।