पर्वत,२१ फागुन ।
पर्वतको बिहादी गाउँपालिका स्थित सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङ जाने क्रममा लु१ज ४४६० नम्बरको जीप आज बिहान अनियंत्रित भइ दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि पाल्पा पठाइएको र जीपमा सवार एक बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






