हेटौंडा,१९ फागुन ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्युभएको छ भने एक जना घाइते भएका छन् ।
आज मनहरी-७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर-१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् ।
टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।





