भैरहवा,१९ फागुन ।
रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पस अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि पूर्वप्रकाशित तालिका अनुसारका सम्पूर्ण कार्यक्रमहरु क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन अधिकृत गणेश प्रसाद पाण्डेयले जानकारी दिए ।

क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघ–संगठनहरुको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय बैठकको सहमतिमा प्रक्रिया अगाडि बढाइने पाण्डेयले बताए ।

सोमबार बिहान केही विद्यार्थी संगठनले क्याम्पसको हलमा तोडफोड गरेका छन् । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता आज तोकिएकोमा केही विद्यार्थी संगठनहरुले तोडफोड गरेका हुन् ।

क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, विद्यार्थी जनमत संघ र स्वतन्त्र मधेशी विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन् ।

सोही विषयमा सोमबार बिहान छलफल भइरहेको बेला अनेरास्ववियुले बाजागाजासहित संगठन दर्ता गराउने प्रयास गरेपछि तोडफोडमा उत्रिनुपरेको समाजवादी विद्यार्थी युनियनले जनाएको छ ।