काठमाडौं,१६ फागुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य र शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्धन गर्न विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययन गर्ने वातावरण बनाउन जरुरी रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनलेे उक्त कुरा बताएका हुन् ।

सरकारलाई बजेटमा विदेशी विद्यार्थीहरूको लागि छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिदै उनलेे यसले अन्तर्राष्ट्रिय सम्बन्ध थप सुदृढ हुने विश्वास ब्यक्त गरे । शिक्षा भूराजनीतिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको भन्दै महरले यस्तो छात्रवृत्तिले नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने र नेपालको शिक्षा प्रणालीमा विश्वास निर्माण गर्न मद्दत पुर्याउँने धारणा राखे ।

नेपाललाई शिक्षा हब बनाउन केही महत्त्वपूर्ण पक्षहरू प्रस्तुत गर्दै महरले नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीतिलाई प्रमुख फाइदा लिन जरुरी रहेकोमा जाेड दिए ।

नेपालले भारत र चीन जस्ता ठूला मुलुकहरूको नजिक रहेको अवस्थिति, व्यापारिक सम्भावना र शिक्षा क्षेत्रमा ठूलो योगदान गर्ने भन्दै उनलेे भने, “नेपालले भारत र चीन जस्ता ठूला मुलुकहरूको नजिक रहेको अवस्थिति, व्यापारिक सम्भावना र शिक्षा क्षेत्रमा ठूलो योगदान गर्न सक्छ।”

नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षा जस्ता क्षेत्रमा अध्ययन र अनुसन्धानका अवसरहरू प्रदान गर्न सक्ने महराले विश्वास व्यक्त गरे ।

सही रणनीति र योजनासँग नेपालले विश्वस्तरीय शिक्षा प्रदान गर्न सक्ने उनले उल्लेख गर्दै शिक्षा क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा विधेयकको विषयमा सबैले अधिकार र कर्तव्य निर्वाहमा सहमति बनाउनुपर्ने आवश्यकता औल्याए ।

उनले पार्टी सभापति शेरबहादुर देउवा संग शिक्षा क्षेत्रको लगानी सुरक्षा र निजी क्षेत्रको आश्वस्तता बारे छलफल भएको र यस विषयमा प्रधामन्त्रीसँग पनि छलफल गर्ने तयारी रहेको बताए ।