काठमाडौँ,१६ फागुन ।
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकाे र हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए । स्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेकाे छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको उनलेे बताए । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनुकासाथै उच्च पहाडी क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।

खराब माैसमकै कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका धेरैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो ।