बुटवल,१४ फागुन ।
आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।

महाशिवरात्रि पर्वको अवसरमा राजधानी काठमाडौंकाे पशुपतिनाथ ,पाल्पाको तिनाउ गाँउपालिका-३ मा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबाधामलगायतका शिवालयहरूमा आज बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ । महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा घुइँचो लागेको छ ।

यसैक्रममा पाल्पाको सिद्वबाबाधामसहित रूपन्देहीको बुटवलका बिभिन्न शिवालयहरूमा पुजा गर्न बिहानैदेखि दर्शनार्थीहरू लाईन लागेका छन् ।

सिद्धबाबा मन्दिरमा आज बिहानैदेखि शिव पूजन, रुद्राभिषेक पूजा,अखण्ड हरिकीर्तन भइरहेको मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले जानकारी दिए । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको अध्यक्ष शेरचनले बताए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन् ।

दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निरन्तर निगरानी गर्ने अध्यक्ष शेरचनले बताए । उनका अनुसार सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । गतवर्षको शिवरात्रीमा ३५ हजार बढी भक्तजनले दर्शन गरेको बताउँदै अध्यक्ष शेरचनले यो वर्ष ५० हजार बढी भक्तजन भित्र्याउने गरी तयारी गरिएको बताए ।

भक्तजनहरूलाई दर्शनका लागि बिहान ३ बजेदेखि नै मूल मन्दिर खुला गरिएको प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए । विगतमा भक्तजनहरु २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रमै दर्हन गर्न सक्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था मिलाइएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले बताए । बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् ।

सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको अध्यक्ष शेरचनले बताए । धार्मिक तथा ऐतिहासिक क्षेत्र सिद्धबाबामा नेपालका विभिन्न जिल्लाहरुसँगै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।