बुटवल,१० फागुन ।
बुटवलमा जारी दाेस्राे मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्रा तर्फकाे उपाधि कालिका मानव ज्ञान माविले हातपारेकाे छ ।
आज भएको फाइनल प्रतिस्पर्धामा गार्गी एकेडेमीलाई ३-१ गाेल अन्तरले हराउँदै कालिकाले उपाधि हातपारेकाे हो ।
कालिकाकी जर्सी नं ७ की राेशनी सारू मगरले पहिलो हाफको पाँच मिनेटमा पहिलो गाेल गर्दै अग्रता दिलाइन भने जर्सी नं ९ की किर्ती पराजुलीले दाेस्राे हाफको चार मिनेट र दश मिनेटमा दुई गाेल गरेर जित सुनिश्चित गरिन् ।
प्रतियोगितामा गार्गी एकेडेमीकी १० नं जर्सीकी अनुस्का पल्लीले पहिलो हाफको १५ मिनेटमा गाेल गरेर बराबरीमा पुर्याए पनि अन्य खेलाडीले गाेल गर्न नसक्दा उपविजेतामै चित्त बुझायो ।
उपाधिसँगै कालिकाले नगद ५० हजार रूपँया,शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेता गार्गी एकेडेमीले नगद ३० हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ ।
विजेता,उपविजेता दुवै टोलीलाई आजै नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार शिल्ड तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत छात्र तर्फ स्कलर्स होम र न्यु हाेराइजनबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले बताइन् ।






