बुटवल,१० फागुन ।
बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत छैठौं दिन आज उपाधि भिडन्त हुँदैछ ।

प्रतियोगितामा आज शनिबार उपाधिका लागि छात्रा तर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान मावि भिड्ने भएका छन ।

छात्र तर्फ भने सेमिफाइनलमा पराजित भएको स्कलर्स हाेम र न्यु हाेराइजनबीच उपाधि भिडन्त हुने छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा स्कलर्स हाेमलाई २-० ले हराउदै फाइनलमा पुगेको सरस्वती मावि र न्यु हाेराइजनलाई ४-१ ले हराउँदै फाइनलमा पुगेको अक्सफोर्ड मावि दुबै टिमका एक/एक खेलाडी बिरूद्व उजुरी परेको थियो ।

उजुरी बारे छानबिनका क्रममा सम्बन्धित विद्यालयले प्रमाण पुग्ने कागजात उपलब्ध गराउन नसकेका कारण अक्सफोर्ड र सरस्वती मावि फाइनल खेल्नबाट बन्चित भएको नगर खेलकुद विकास समितिका सदस्य सेरजंग गुरूङले बताए ।

शुक्रबार भएको सेमिफाइनलमा टाइब्रेकरमा ज्ञानाेदय माविलाई ३-२ ले हराउँदै गर्गीले फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै शुक्रबारै भएको कालिका मानवज्ञान मावि र नविन औद्याेगिक माविबीचको सेमिफाइनलमा नविनलाई २-० हराउँदै कालिका फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि शनिबार दिउँसो १२ बजे बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा फाइनल प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।

प्रतियोगिताका विजेता,उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शनिबारै नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रादेवी अर्याललगायतले पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र बितरण गर्ने कार्यक्रम तय भएको मञ्च ब्यवस्थापन उपसमितिका सराेज सिंहले बताए ।

छात्र तर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक सुनिता गिरीले बताइन् ।

छात्रा तर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।