बुटवल,८ फागुन ।
बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत चाैथाे दिन आज क्वाटर फाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगितामा भाेली शुक्रबारदेखि सेमिफाइनल खेल हुने भएको छ ।

बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा
आजको भएको पहिलो क्वाटर फाइनलमा नविन औद्याेगिक माविलाई ३-२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।

चारपाला खेल मैदानमै भएको अर्को खेलमा कान्ति माविलाई ३-० ले हराउँदै स्कलर्स हाेम सेमिफाइनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।

उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि र न्यु हाेराइजन स्कुलबीचको खेलमा न्यु होराइजन ३-० ले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

जवई खेलमैदानमै आज भएको माेतिपुर मावि र अक्सफोर्ड माविबीचकाे खेलमा २-० ले अक्सफोर्ड विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिए ।

आजको जितसँगै अक्सफोर्डले पनि सेमिफाइनल यात्रा तय गरेको छ ।

त्यस्तै जवई खेल मैदानै आज भएको छात्रा तर्फकाे क्वाटरफाइनल खेलमा कान्ति माविलाई १-० ले हराउँदै गार्गी मावि सेमिफाइनलमा प्रवेश गरेको छ भने न्यु होराइजन र कालिका मानवज्ञान मावि बीचको खेलमा पेनाल्टी सुटआउटमा ३-२ ले कालिका विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भाेली शुक्रबार चारपाला खेलमैदानमा सरस्वती मावि र स्कलर्स होमबीच सेमिफाइनल खेल हुनेछ ।

उता जवई खेलमैदानमा भाेली शुक्रबार न्यु हाेराइजन मावि र अक्सफोर्ड माविबीच सेमिफाइनल हुने छ भने छात्रा तर्फ ज्ञानाेदय मावि र गार्गी मावि तथा नविन
औद्याेगिक मावि र कालिका मानवज्ञान माबिबीच सेमिफाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष पियाले जानकारी दिए ।

छात्र तर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

छात्रा तर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।