बुटवल,८ फागुन ।
आज लुम्बिनीसहित चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेशकाे एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरे स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली साथै देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।