बुटवल,७ फागुन ।
बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर स्थित नरैनापुर आधारभूत विद्यालयकाे ५७ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।

चार दिवसीय रूपमा मनाइएको बार्षिकाेत्सव मूल समारोहकाे बुधबार बुटवल उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष कृष्णप्रसाद पाैडेलले उद्घाटन गरेका हुन् ।

साे अवसरमा वडा अध्यक्ष पाैडेलले सरकारी विद्या लयहरूमा राम्रो पढाइ हुँदैन भन्ने भ्रमलाई यस विद्यालयले चिर्दै अगाडि बढेको भन्दै आगामी दिनमा थप अब्बल विद्यालयकाे रूपमा स्थापित हुने विश्वास ब्यक्त गरे ।

विद्यालयलाई वडा कार्यालय बाट सहयोग गर्दै आएको स्मरण गर्दै उनलेे आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए ।

पुरानो शिक्षा पद्धतिलाई परिमार्जन गर्दै प्रविधिमैत्री र सिपमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताउदै वडा अध्यक्ष पाैडेलले साेही अनुसार योजना बनाएर अगाडि बढ्न शिक्षक कर्मचारीलाई आग्रह गरे ।

विद्यालयकी प्रधानाध्यापक अम्बिका अर्यालले नेपालीका साथै अंग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु गरेपछि विद्यार्थीहरूकाे आकर्षण बढेको बताउदै विद्यालयलाई समय सापेक्ष प्रविधिमैत्री र सीपमूलक शिक्षा प्रदान गर्दै जाने लक्ष रहेको बताइन् ।

कार्यक्रममा पुर्व गाउँ पालिका उपाध्यक्ष घनश्याम चालिसेले विद्यालयले निजी शिक्षण संस्थाकै सरह नतिजा दिन सफल भएको भन्दै आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउने गरी लाग्नुपर्नेमा जाेड दिए ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पार्वती चालिसेकाे सभापतित्व र वडा अध्यक्ष पाैडेलकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व प्रअ बीरबल प्रसाद चौधरी,पुर्व वडा अध्यक्ष सुदर्शनदेव जाेसी,साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गाेपाल पाैडेल,शिक्षक झरना अर्याल,प्रदिप परियारलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा जग्गादाता स्व.मदनमान सिमाङगैडाका छाेरा प्रबल मान श्रेष्ठ एवं श्रीमती मैया श्रेष्ठलाई सम्मान गरिएकाे थियो ।

साे अवसरमा विद्यालयका शिक्षक,कर्मचारी तथा अक्षयकोष तथा चन्दादातालाशई समेत सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा शिक्षक प्रदिप परियार,बालविकास शिक्षिका प्रमिला सापकोटा र कर्मचारी राधा चालिसे रहेका छन् ।

आइतबारदेखि सुरु भएको बार्षिकाेत्सव कार्यक्रम अन्तर्गत बिभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनुका साथै शिक्षक तथा विद्यार्थीहरूद्वारा बिबिध सांगीतिक प्रस्तुति गरिएकाे थियो ।