स्याङ्जा,२८ माघ ।
स्याङ्जाको वालिङमा मोटरसाइकल र ट्रक ठाेक्किदा एक किशोरकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ रहेका छन् ।

आइतबार राति सवा १० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका गुरूङकाे प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

वालिङ नगरपालिका-८ डुम्रिकोटस्थित सिद्धार्थ राजमार्गमा ग१ख ९४७२ नम्बरको ट्रकलाई लु६९प ८०७६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकको बीचमा पसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार मृतक सुशील गुरुङ मोटरसाइकलको पछाडि सवार थिए । ट्रक चालक ३९ बर्षिय दिवाकर लामिछाने र मोटरसाइकल चालक १७ बर्षिय हेमन्त रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।