काठमाडौँ,२५ माघ ।
‘अमला काण्ड’ काे नाममा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने,सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेकाे भन्दै प्रेस काउन्सिल नेपालले ३८ युट्युब च्यानललाई कारबाही गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको र त्यसमध्ये ३८ युट्युब च्यानललाई कारबाही गरेको प्रेस काउन्सिल नेपालले जनाएको छ । उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानललाई कारबाहीकाे दायरामा ल्याएकाे काउन्सिलले जनाएको हो ।
काउन्सिलका अनुसार ५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ । यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन् ।
११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएकाे काउन्सिलले जनाएको छ ।
काउन्सिलले केही दिन अघि झापा घटनाका विषयमा विज्ञप्ति जारी गरी आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न र सम्प्रेषित सामग्री हटाउन भनेको थियो । त्यसयता ६ वटा युट्युब च्यानलले काउन्सिलमा उपस्थित भइ क्षमायाचना गरेका छन् भने ७ वटा युट्युब च्यानलले विज्ञप्तिका आधारमा भूलसुधार गरेका छन् ।