??????????
Share this News on Social Networking Pages

चितवन,२३ माघ ।
चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा पठाउन आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत चितवनमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले हिरासतमा पठाउन आदेश दिएको हो ।

आज थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो ।

उक्त सहकारीको बचत अपचलन प्रकरणमा ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार नै अदालतमा हाजिर भएका थिए रविसहित उनका साझेदारविरुद्ध मंगलबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा लगेको थियो ।

अदालतमा हाजिर भएसँगै लामिछानको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भएको थियो । बुधबार बयान सकिएकाले बिहीबारदेखि थुनछेक बहस अघि बढ्ने छ ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ । अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।

यसैबीच लामिछानेसहित ३२ जनाविरुद्ध चितवन अदालतमा दायर भएको मुद्दामा सरकारी पक्षबाट ७ जनाले बहस गर्ने भएका छन् ।

सरकारी पक्षबाट चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सह–न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी, सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएकाे अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

यस्तै रविको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न एक जना वरिष्ठ अधिवक्तासहित ६ जनाले वकालतनामा दर्ता गराएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका छन् ।

बुधबार पौने १२ बजेदेखि सुरु भएको लामिछानेको बयान दिउँसो साढे ३ बजे सकिएको थियो । अब बिहीबारदेखि थुनछेक बहस सुरु हुने सूचना अधिकारी विश्वकर्माले बताए ।