Share this News on Social Networking Pages

चितवन,२३ माघ ।
सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।

चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् ।

लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ । बयानका लागि लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएको बताइएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ ।

‘विभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ’ –अभियोगपत्रमा भनिएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।