Share this News on Social Networking Pages

काठमाडौं,२२ माघ ।
राजधानी काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल लगातार चौथो खेलमा पराजित भएको छ ।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेलमा पनि हार बेहाेरेकाे हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहाेरेकाे हो ।

जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै खेलमा ब्याटिङ नचल्दा नेपालले लगातार हार बेहोर्नु परेको छ ।

मंगलबारपनि नेपालको ब्याटिङ नचल्दा थाइल्यान्डसँग पराजित हुन पुग्यो । जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । कविता जोशीले २४ रन थपिन् ।

पूजा महतोले १८ रनको योगदान दिइन् भने रोमा थापाले १९ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सम्झाना खड्काले ५ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले ३ रन मात्रै जोड्न सकिन् । रचना चौधरी २ रनमा नटआउट रहिन् ।

टपअडर ब्याटिङ चल्न नसक्दा नेपालले लय भेटाउन सकेको छैन् ।

थाइल्यान्डका लागि थिपाच्चा पुथावाङले सर्वाधिक ४ विकेट लिइन् । फन्निता मायाले २ विकेट झारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो ।

एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् ।

ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् ।

नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए ।

नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।